म्याग्दी। बाढी र पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक खुलेको छ। शनिबार राति परेको वर्षाका कारण विभिन्न स्थानमा गएको बाढी र पहिरोका कारण अवरुद्ध बेनी–जोमसोम सडक आइतबार खुलेको हो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङतातोपानीमा बाढीले कल्भट पुल, नौनीबगर र वडा नम्बर ३ को दानाको गुइँठेमा आएको पहिरोलाई डोजर परिचालन गरी मर्मत गरेपछि सडक सुचारु भएको छ।
सदरमुकाम बेनी हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक भुरुङतातोपानी कल्भट पुलको मर्मत, नौनीबगर र गुइँठेमा झरेको पहिरोमा डोजर परिचालन गरेर सफा गरेपछि सिधा यातायात सेवा सञ्चालनमा आएको बेनी जोमसोम सडक आयोजनाले जनाएको छ।
सडक खुलेपछि म्याग्दीका उत्तरी क्षेत्रका बासिन्दा र मुस्ताङमा घुम्न आउने र फर्कने पर्यटक र तीर्थयात्रीहरू गन्तव्यमा लागेका छन् ।