उदयपुर। उदयपुरको बेलका नगरपालिका–८, लाहुरे खोंचस्थित डुम्रीबोटे क्षेत्रमा बिग बोल्डर स्लोप निर्माण गर्न सुरु गरिएको छ। कोशीको बाढीबाट हुने सम्भावित खतराको अति संवेदनशील यस क्षेत्रमा १७० मिटर लामो र तीन मिटर उचाइ भएको बिग बोल्डर स्लोप निर्माण गर्न थालिएको हो।
जलस्रोत तथा सिँचाइ विभागको करिब ७३ लाख लागतमा स्थानीय उपभोक्ता समितिमार्फत निर्माण थालिएको कोशी तथा बक्राहा नदी व्यवस्थापन कार्यालय विराटनगरले जनाएको छ।
गत वर्ष गाउँतिर बाढी पसेको २३ दिनपछि कोशीमा पानीको बहाव घटेको मौका छोपी स्थानीय जनश्रमदानसहित बेलका नगरपालिकाको सहयोगमा करिब दुई सय मिटर लामो अस्थायी तटबन्ध निर्माण गरेका थिए। यो वर्ष भने कोशीको पानीभित्र पाँच मिटर चौडाइ र तीन मिटर उचाइका ठुलाठुला ढुङ्गा खसालेर बाँध बनाइएको हो। जसमा जमिनभन्दा माथि दुई मिटर उचाइ हुने र टपमा पाँच मिटर चौडाइ रहने गरी निर्माणको काम सुरु गरिएको छ।