ललितपुर। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललितपुरको नख्खु–भैँसेपाटी–चुनीखेल सडकको काम जेठभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्। सोमबार सो सडकखण्डको निरीक्षण गर्दै मन्त्री ज्वालाले जेठभित्र नै काम सम्पन्न गर्न सम्बन्धित निकाय र निर्माण कम्पनीलाई निर्देशन दिएका हुन्।
उनले भने, “अहिले सो सडकखण्डमा राम्रो प्रगति देखिएको छ। मैले स्थलगत निरीक्षणका क्रममा दिएको निर्देशनबमोजिम यसै महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्बन्धित निकाय र निर्माण कम्पनीबाट प्रतिबद्धता व्यक्त भएको छ ।”
आफू मन्त्री हुँदा यस सडकखण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको बताउँदै उनले अब नख्खु–भैँसेपाटी क्षेत्रका बासिन्दाले धुलोको सास्ती बेहोर्नु नपर्ने दाबी गरे । यसअघि सम्बन्धित निकायहरूबिच समन्वय हुन नसक्दा कामले गति पाउन नसकेको बताउँदै उनले आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
ललितपुरको नख्खु–भैँसेपाटी–चुनीखेल साढे तीन किलोमिटरको सडकखण्ड चौडा र कालोपत्रे गर्ने गरी सम्झौता भएको छ वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म काम सम्पन्न हुन सकेको छैन ।
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी यो सडकको ठेक्का सम्झौता २०७४ वैशाखमा भएको थियो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत ठेक्कामार्फत सडकको निर्माण कार्य सुरु गरिएको थियो । आशिषरबिरुवारसिएम (संयुक्त) निर्माण कम्पनीले ३० करोड लागतमा सडक निर्माणको जिम्मा पाएको थियो ।
मुआब्जा तथा सडक विस्तारमा स्थानीयको अवरोधका कारण काम गर्न नपाउँदा सम्झौता अनुसार निर्धारित समयमा काम सम्पन्न हुन नसकेको आयोजनाले बताउँदै आएको छ।