दोलखा। दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोसी पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनी सम्पर्कबिहीन बनेको छ। वि.सं. २०७३ सालमा आठ करोड ४५ लाख १० हजार रुपियाँमा ठेक्का सम्झौता गरेपछि निर्माण कम्पनी मिलगिरी नेशनल जेभी हालसम्म बेपत्ता भएको हो ।
जिल्लाका चार वटा पालिकाको मुख्य राजमार्ग लामो साँघु– जिरी सडक खण्ड अन्तर्गत पर्ने तामाकोसी पुल निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले सास्ती खेप्नु परेको छ । चार वटा स्थानीयलाई सदरमुकामसम्म जोड्ने र आधा दर्जन हाइड्रोपावरको सामान ढुवानी हुने यो पक्की पुल नबन्दा अहिले जीर्ण अवस्थामा रहेको पुलबाटै यातायात सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । आयु सकिसकेकाले जीर्ण पुल कति बेला ढल्छ भन्ने यकिन छैन । जोखिम मोलेर यातायात सञ्चालन भइरहेका छन् ।
जिल्लाको सदरमुकाम चरिकोट हुँदै मैना पोखरी, जिरी,तामाकोसी हुँदै रामेछापको सदरमुकाम मन्थली ओहोरदोहोर गर्ने तामाकोसी पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सात वर्षदेखि पुललाई अलपत्र पारेको स्थानीय बताउँछन् ।
२०७४ सालमा ठेक्का सम्झौता भएको चरिकोट–जिरी ५५ किलोमिटर सडक २०७८ सालमै निर्माण सम्पन्न भयो । सडकभन्दा ठिक एक वर्ष अघि ठेक्का सम्झौता भएको पुल अझै निर्माण हुन नसक्दा जोखिम मोलेरै मालवाहक ठुला सवारी ओहोरदोहोर गर्नु परेको छ ।
ठेकेदारको लापरबाहीका कारण अहिले सो नदीको पुल अलपत्र अवस्थामा छ । जिल्लाको भीमेश्वर नगरपालिका हुँदै वैतेश्वर गाउँपालिका,तामाकोसी गाउँपालिका, जिरी नगरपालिका र गौरीशङ्कर गाउँपालिका समेत ओहोरदोहोर गर्ने मुख्य नदीको पुल निर्माण गर्न ठेकेदारसँगै जिल्लाका राजनैतिक दल र प्रदेश तथा सङ्घीय सरकार र सडक डिभिजन कार्यालयले समेत चासो नदेखाएको स्थानीयहरूको गुनासो रहेको छ । गोरखापत्रबाट