काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–८ स्थित नगर कार्यालयसँगै रहेको बसपार्क सञ्चालनमा आएको छ। निर्माण भएको ३५ वर्षपछि बनेपा बसपार्क बुधबारदेखि सञ्चालनमा ल्याइएको हो।
यो बसपार्क विसं २०४५ मा निर्माण गरिएको थियो। अरनिको राजमार्ग निर्माण भएपछि मध्यपहाडी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रूपमा रहेको बनेपा नगरका अधिकांश स्थानीयले यातायातलाई मूल व्यवसाय बनाएपछि बसपार्क निर्माण गरिएको थियो।
विभिन्न कारणले सञ्चालनमा आउन नसकेको उक्त बसपार्क बनेपा नगर क्षेत्रभित्रका यातायात व्यवस्थापन तथा बसपार्क सञ्चालन बारे यातायात व्यवसायी तथा यातायात मजदुर सङ्गठनका प्रतिनिधिसहितको छलफल पछि सञ्चालनका लागि प्रक्रिया अघि बढेको थियो। सोही छलफलपछि बुधबारदेखि बसपार्क सञ्चालनमा ल्याइएको हो।
यसअघि बनेपा चारदोबाटोस्थित सडक छेउमा यात्रुवाहक सवारी रोक्ने तथा पार्किङ गर्दै आइएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले अरनिको राजमार्ग भएर सञ्चालन हुने सबै यात्रुवाहक बस बनेपा बसपार्क प्रवेश गरेर यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाएको छ ।