काठमाडौं। झापामा सुरु गरिएको सौर्यऊर्जा प्रणालीबाट आगामी असोज १ गतेबाट विद्युत उत्पादन हुने भएको छ । १० मेगावाटको सो परियोजना निर्माणको अन्तिम चरणमा पुगेको र अब विद्युत उत्पादनको अवस्था आउन लागेको जनाइएको छ ।
झापाको शिवसताक्षी–४ मा झापा इनर्जीले निर्माण गरिरहेको परियोजनाको ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । २२ बिगाहा जमिनमा हाल परियोजनाको प्यानल जडानको काम भइरहेको छ । यसका लागि ४० करोड रुपैयाँ लगानी भइसकेको छ । झापा इनर्जीका सञ्चालक सुवाश भट्टराईका अनुसार तीन वर्षअघि निर्माण थालिएको परियोजना कोभिडका कारण केही ढिला भएको हो ।
यस परियोजनामा सेयर धनीबाट र बैंकिङ लगानीबाट वित्तीय व्यवस्थापन मिलाइएको छ । माछापुच्छ्रे बैंकले ३५ र सिभिल बैंकले २५ करोड रुपैयाँ लगानी गरेका छन् भने २० करोड रुपैयाँ सेयर धनीबाट संकलन गरिएको छ । जलविद्युतमा भन्दा आधा लगानीमा सौर्य विद्युत उत्पादन गर्न सकिने देखिएको परियोजना सञ्चालकको भनाइ छ ।
परियोजनाका मुख्य इन्जिनियर केशव चापागाईंका अनुसार ऊर्जा उत्पादनका लागि २१ हजार ८४० वटा प्यानल जोडिएको छ । संघीय सांसद लालप्रसाद साँवा अध्यक्ष रहेको झापा इनर्जीले उत्पादन गरेको विद्युत ७।३० रुपैयाँका दरले नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्ने सम्झौता भइसकेको जनाइएको छ । कारोबार दैनिकबाट