काठमाडौं। सरकारले निकै चासो देखाएको नख्खु–भैँसेपाटी सडकको काममा सकारात्मक परिणाम देखिन थालेको छ। नख्खु सडक निर्माण कार्यको दुई महिनायता राम्रो प्रगति भइरहेको हो।
यहि गतिमा काम अघि बढे जेठभित्रमा सडकको काम सकिने बताइएको छ। सडक विभागका अनुसार अहिलेको कामको गति हेर्दा मुख्य सडकमा सम्पन्न हुन लामो समय नलाग्ने देखिएको छ । केही सहायक कामबाहेक मुख्य काम सकिने देखिएको विभागले जनाएको छ।
नख्खु–भैँसेपाटी सडक निर्माणमा भएको ढिलाइमा सरकारले चासो देखाउँदै आएको छ । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि यो सडकको पटकपटक स्थलगत निरीक्षण गरेका थिए भने अहिले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पनि छोटो समयमै दुई पटक यस सडकको निरीक्षण गरिसकेका छन्।
सरकारको चासो र निरन्तरको अनुगमनले दबाब बढेपछि पनि काममा तीव्रता देखिएको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेडका पाइपका कारण यो सडक निर्माणमा ढिलाइ हुँदै आएको थियो । खानेपानी लिमिटेडले अहिले पनि पाइपको काम गरिरहेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले अझै छेउपट्टिको पाइप चुहावट भएर निर्माणमा बाधा पुग्ने गरेको बताए । पछिल्लो समय निर्माणमा प्रगति भएको र त्यसले गर्दा अब सडकका बाँकी काम छिट्टै सम्पन्न हुने देखिएको बताए।