फाइल तस्बिर
सुर्खेत। कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालीकोट र जुम्लाको सिमानामा पर्ने नाग्मगाड खोलाको पक्की पुल संचालनमा नआउँदै चर्किएको छ।
कालीकोटको तिलागुफा नगरपालिका र जुम्लाको तिला गाउँपालिका जोड्ने नाग्मस्थित पक्की पुल संचालनमा आउने बेला चर्किएको हो।
निर्माण सुरु भएको ६ वर्षपछि गत असारमा सम्पन्न हुने पुल चर्किएपछि पुन:निर्माणका लागि पुरै भत्काइएको छ। पुलमा कमसल निर्माण सामग्री र कमजोर जनशक्ति खटाइएकोले चर्किएको स्थानीयको भनाइ छ।
०७५ चैत्रमा सम्पन्न गर्ने गरी ०७४ कात्तिक ३० गते सुर्खेतस्थित सूर्य कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भए पनि म्याद थप गर्दै ६ वर्ष लम्ब्याइएको थियो । पुल सम्पन्न गरेर बुझाउने बेलामा चर्किएपछि सडक विभागले तीन सदस्यीय समिति गठन गरेर स्थलगत अनुगमन गरेको थियो । निर्माण कम्पनीकै कमजोरी देखिएकाले पुन:निर्माण गर्न पुलको पूरै संरचना भत्काइएको छ ।