चितवन। नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन्। नारायणगढ–मुग्लिनका सेतीदोभान, डुम्रे र बालुवा पुलको काम पूरा हुन लागेको हो।
सेतीदोभानको पुलमा रङ्ग लगाउन र बाह्य भागमा रेलिङ् राख्न बाँकी रहेको र डुम्रे र बालुवा पुलको सबै भागमा रेलिङ, कालोपत्र र रङ्ग लगाउन मात्र बाँकी रहेको आयोजनाले जनाएको छ। सबै काम सकेर जेठ मसान्तभित्र तीनवटै पुल सञ्चालनमा ल्याउने तयारी भएको आयोजनाले जनाएको छ।
१९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् । पुरा हुन लागेका तीन पुल बाहेक अन्य चार पुललाई असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम भइरहेको छ ।
पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही २०८० सालको पुस मसान्तसम्ममा सकिँदै छ । विसं २०७६ को चैतमा रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो ।