काठमाडौं। सरकारले ऊर्जा क्षेत्रको विकासका लागि सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालयतर्फ विनियोजन गरिने बजेटको आकार बढाएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदका दुवै सदनमा बजेट प्रस्तुत गर्ने क्रममा चालु आर्थिक वर्षको बजेटको तुलानामा आगामी आर्थिक बर्ष २०८०/०८१ का लागि ऊर्जा क्षेत्रमा १२ अर्ब ३५ करोडले वृद्धि भएको बताएका छन् ।
सिँचाइ, जलस्रोत तथा ऊर्जा मन्त्रालयतर्फ आगामी आर्थिक वर्षका लागि ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । चालु आवका लागि ऊर्जातर्फ ७५ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यो वर्ष १२ अर्ब ३५ करोड रुपैयाँ ऊर्जा क्षेत्रको विकासका लागि बजेट वृद्धि गरिएको हो ।
सरकारले दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुर्याउने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पु¥याउने गरी राष्ट्रिय प्रसारणलाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत र सौर्य तथा वायुजस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने बताएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष (आव) २०८०/०८१ को बजेटमा ऊर्जा दोस्रो प्राथमिकतामा रहेको घोषणा गरेका छन् । कृषि, ऊर्जा र पर्यटन क्षेत्रको विकासलाई उच्च प्राथमिकता दिइनेछ । साथै, जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने गरी बजेट तथा कार्यक्रम परिचालन गरिने घोषणा गरिएको छ । कारोबार दैनिकबाट