नयाँ दिल्ली। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको बताएका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँ दिल्लीमा आज नेपालका सञ्चारकर्मीसँगको कुराकानीमा आफ्नो भ्रमण ऐतिहासिक रहेको बताउँदै ऊर्जा व्यापारका क्षेत्रमा ‘ब्रेक थ्रु’ भएको जानकारी दिएका हुन्।
उनले नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए।
उनले नेपालको विद्युत् बङ्गलादेशसम्म निर्यात गर्नका लागि महत्वपूर्ण सहमति भएको बताए। प्रधानमन्त्री प्रचण्डले महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको जानकारी दिए ।
सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको समेत प्रधानमन्त्री प्रचण्डले बताए । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच ऊर्जा तथा जलविद्युत् विकास र व्यापार, पारवहन सम्झौताको पुनरावलोकन र नवीकरण, अन्तरदेशीय प्रसारणलाइन निर्माण, पेट्रोलियम पाइपलाइन निर्माण र विस्तार, एकीकृत जाँच चौकी निर्माण, महाकाली नदीमा पक्की पुल निर्माण, अन्तरदेशीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।