काठमाडौं। ६ महिनाअघि ठेक्का लागेको पृथ्वी राजमार्गको मुग्लिन–मलेखु सडकखण्ड विस्तारको काम सुरु भएको छ। न्यूनतम नौदेखि ३० मिटरसम्म फराकिलो पार्ने गरी सडक विस्तारको काम भइरहेको हो।
सडकको दायाँबायाँ पर्खाल लगाउने, फराकिलो पार्न सीमा रेखा तयार पार्ने, सडक क्षेत्रमा परेका घर टहरा हटाउने काम भएको छ। अहिले काठमाडौं जाने र बाहिरिने सवारीसाधनलाई असर नपर्ने गरी भित्ता काट्ने काम हुने छ भने वर्षात्मा भित्ता काट्ने काम बन्द गरेर अन्य सीमा र पर्खाल लगाउने कार्य गरिने बताइएको छ।
सडक साँघुरो र जङ्गल क्षेत्रमा नौ मिटर कायम गरिने छ भने बजार र बस्ती क्षेत्रमा चार लेन अर्थात् ३० मिटरसम्मको फराकिलो पार्ने गरी काम भएको बताइएको छ।
चितवनतर्फ १७ किलोमिटर र धादिङतर्फ २२ किलोमिटर सडक स्तरोन्नति गर्ने पश्चिम क्षेत्रको कार्य क्षेत्रमा परेको छ। नागढुङ्गादेखि मुग्लिनसम्मको ९५ किलोमिटर सडक स्तरोन्नति गरिने भए पनि पश्चिम क्षेत्रमा भने ३९ किलोमिटरको काम गरिने छ। बाँकी धादिङ कार्यालयले हेर्ने गरी विभाजन गरिएको छ। यस क्षेत्रमा सगुन कन्स्ट्रक्सन र शर्मा लामा जेडआइसिजीले ठेक्का पाएका छन्।