नवलपुर। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा त्रिवेणी–कोरला सडक प्राथमिकतामा परेको छ। सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नवलपुर र मुस्ताङ जोड्ने उत्तर दक्षिण मार्ग कोराला–त्रिवेणी सडकलाई प्राथमिकता दिएको बताएका हुन्।
कोरला–त्रिवेणी सडकमार्फत दुई छिमेकी राष्ट्र जोड्ने र गण्डकी प्रदेशको समृद्धिको आधार निर्माण गर्न सरकार लागिपरेको प्रदेश प्रमुख गुरुङले बताए।
कोराला–त्रिवेणी सडकसँगै नवलपुरमा हुने औद्योगिक निर्माण मुख्य क्षेत्रलाई समेत प्राथमिकतामा राखिएको छ।
आठ वर्षदेखि अलपत्र परेको नवलपुरमा पर्ने दुम्कीबास–गजेन्द्रमोक्ष सडकखण्डको निर्माणलाई गति दिन उक्त सडकलाई बजेट सुनिश्चितता गरी वन्यजन्तुमैत्री संरचनासहित तीन वर्षभित्र निर्माण सम्पन्न गर्न विस्तृत आयोजना प्रतिवेदन निर्माणका लागि कार्यारम्भ भएको गुरुङले बताए ।
संघ सरकारसँगको समन्वय र स्थानीय तहको सहकार्यमा प्रदेश गौरवको आयोजनाका रूपमा रहेका नवलपुरको लोकाहाखोला, कास्की र तनहुँको पुँडिटारमा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्र स्थापना, व्यवस्थापन तथा सञ्चालनका लागि पूर्वाधार निर्माणका कार्यलाई प्राथमिकता दिइने सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । कालीगण्डकी, मर्स्याङ्दीलगायत करिडोर क्षेत्रमा कृषिमा आधारित एकीकृत विकासलाई प्राथमिकतामा राखेर कार्य प्रारम्भ गरिने उनले बताए ।
नवलपुरको डेढगाउँबाट तनहुँको भिमाद तथा नवलपुरको डेढगाउँबाट नवलपुरकै झ्यालबास खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।