काठमाडौं। सरकारले आगामी असार १ गतेदेखि सडक खन्न रोक लगाएको छ । सडक विभागले सूचना जारी गरी आगामी असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि सडक खन्न प्रतिबन्ध गरेको जानकारी गराएको हो।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागको सूचनामा उल्लेख छ।
असार १ गतेदेखि भदौ मसान्तसम्मको अवधिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डिभिजनहरु मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले जनाएको छ ।
यदि कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।