काठमाडौं। बेमौसमी वर्षासँगै जडारीगाड खोलामा आएको बाढीले खप्तडछान्ना गाउँपालिकामा १ खाती गाउँमा रहेको जगदम्वा आधारभूत विद्यालय बगाएपछि विद्यार्थीहरु खुल्ला चौरमै पढ्न बाध्य भएका छन्। असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण आएको बाढीले विद्यालयमा पूर्ण क्षति गरेको हो।
विद्यालयका तीनवटा पक्कीभवन, शौचालय र खेलमैदान पूरै बगाएर नामोनिसान छैन। विद्यालयमा रहेको तीनवटा भवनका आठ कोठाका साथै शौचालय पनि बगाएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक लालबहादुर खत्रीले बताए। लामो समयसम्म कोरोना माहामारीले पढाइ हुन सकेको थिएन, पढाइलाई प्रभावकारी बनाउने उदेश्यले दसैं–तिहारमा पनि धेरै बिदा दिइएन। विद्यालय बगाएपछि अहिले विद्यार्थीहरू खुला चौरमा राखेर पढाउनु पर्ने बाध्यता भएको उनले बताए।
बस्नका लागि फर्निचर पनि छैन। अब यस्तो बेलामा कसरी पढाइ गर्ने। विद्यालय भवन निमार्णका लागी पहल गरेको भएपनि कसैले सुन्दैनन। भवन बगाएपछि पठन–पाठन प्रभावित हुने भएपछि अस्थायी टहरा बनाएर पठन–पाठनमा सहजता ल्याउन विभिन्न निकायमा पहल गरेको भए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ। कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा १६० जना विद्यार्थी अध्ययनरत छन्।