काठमाडौं। विश्व बैङ्कको करिब ३५ अर्ब रुपैयाँ लागतमा पूर्व पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चनौटा सडक स्तरोन्नती गर्न सुरु गरिएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र विश्व बैङ्कका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरले आइतबार एक कार्यक्रममा आयोजनाको शिलान्यास गरेका हुन्।
नेपाललाई अन्तर्राष्ट्रिय राजमार्गमा जोड्ने गरी पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आबद्धता अभिवृद्धि अन्तर्गत पूर्व पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चनौटा सडकको ६९ किलोमिटर दुई लेन खण्डलाई जलवायु उत्थानशील चार लेनको राजमार्गमा स्तरोन्नति गर्न लागिएको हो।
विशेष गरी महिला उद्यमी र व्यापारीका लागि आर्थिक अवसर वृद्धिमा ध्यान दिँदै आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहित कम्तीमा तीन वटा बजार क्षेत्र निर्माण गर्ने गरी आयोजना डिजाइन गरिएको विश्व बैङ्कले जनाएको छ। बङ्गलादेश, भुटान, भारत र नेपालले परस्पर क्षेत्रमा मालसामान र यात्रुबाहक सवारीसाधनको सहज आवतजावत गर्ने गरी नेपालको पूर्वतयारी तथा कार्यान्वयनका लागि यस आयोजनाले सहयोग गर्नेछ।
यस आयोजनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन्। नेपाल सरकार र विश्व बैङ्कबिच सेप्टेम्बर २०२२ मा यस आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो।