काठमाडौं। चक्रपथ विस्तारको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज) को विस्तारका लागि प्रक्रिया सुरु भएको छ। नेपाल पक्षले साइड क्लियर गरेपछि चिनियाँ पक्षले विस्तृत डिजाइनको काम सुरु गरेको हो।
सडक विभागले सडक सीमा क्षेत्रभित्रका संरचना हटाएको सूचना दिएपछि चीन सरकारले डिजाइनको काम थालेको सडक विभागले जनाएको छ। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालका अनुसार चिनियाँ पक्षले ६ महिना भित्रमा विस्तृत डिजाइनको काम सक्ने आश्वासन दिएको छ ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, नेपालका लागि चिनियाँ राजदूत चेन सङ्ले सडकको स्थलगत अनुगमन गरेका छन्। अनुगमनका क्रममा मन्त्री ज्वालाले चक्रपथ सडक खण्डको दोस्रो चरणको कामका लागि चिनियाँ पक्षलाई धन्यवाद दिए । यस्तै, नेपालका लागि चीनका राजदूत चेन सङ्ले दोस्रो चरणको काम चाँडै सुरु हुने आश्वासन दिए।
यस सडक खण्डबीचमा तीन मिटरको सेन्ट्रल मिडियनसहित चार–चार लेनको सडक रहने छ । सडकको दायाँबायाँ दुई–दुई मिटरको फुटपाथ सडक पनि रहने उनको भनाइ छ । चक्रपथ विस्तार गर्दा भविष्यमा बन्ने चक्रपथका कुनै आयोजनालाई सङ्कुचन नहोस् भन्ने तरिकाले काम हुने विभागका महानिर्देशक ढकालले बताए ।