भोजपुर। भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ गोगने स्थित राउते खोलाले बगाएर एक सब इन्जिनियरको मृत्यु भएको छ। गोगने–लेर्खक जोड्ने सडकखण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको पानी कटान गर्न गएका टेम्केमैयुङ गाउँपालिकाका सब इन्जिनियर मन्दिप राईलाई बुधबार राति खोलाले बगाएको हो।
वर्षाले पुलको जग र ढलान बगाउने भएपछि जोगाउन राई राति १२ बजे एक्स्काभेटर लिएर पानी कटानको काम गर्दै गर्दा एक्कासि खोला बढ्यो। खोला बढेपछि तर्न खोज्दा राईलाई बगाएको प्रहरीले जनाएको छ। एक्स्काभेटर चालक सम्राट् केसी तत्काल हाम फालेर सुरक्षित रहेका छन्। राई भने हाम फाल्न नसके पछि खोलामा बगेको केसीको भनाई छ ।
घटना लगतै प्रहरी चौकी पान्धारे र कोटबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजी गरी उनलाई आज बिहान साढे ६ बजे मृत अवस्थामा बाढीले बगाएको ठाउँभन्दा तीन किलोमिटर तल आधा पुरिएको अवस्थामा भेटेको प्रहरीले जनाएको छ।