काठमाडौं। सुनकोसी मरिन डाइभर्सनको मुख्य सुरुङ खन्ने काम आधा सम्पन्न भएको छ। आयोजनाको सुरुङ खन्ने काम ९ महिनामा आधा पूरा भएको हो।
सुनकोशी मरिन डाइभर्सन राष्ट्रिय बहुउद्धेश्यीय आयोजनाले हाल टीबीएम मेसिनले मुख्य सुरुङ खन्ने काम ६.६५७ किलोमिटर सम्पन्न भएको जनाएको छ। यसरी नै कामले तीब्रता पाए तोकिएको समय भन्दा छिटो निर्माण कार्य सकिने समेत बताइएको छ।
पहिलो खण्डको टनेल निर्माण कार्यको लागि पूर्वतयारी सकेर टीबीएम मेसिनको पर्खाइ थियो। अब भने मासिक रुपमा यसरीनै लगभग ५०० मिटरको हाराहारीमा सुरुङ खन्ने काम भइरहेको आयोजनाले जनाएको छ।
निर्माण कम्पनीलाई आयोजनाले अबको २ वर्षभित्र सुरुङ खन्ने काम सम्पन्न गर्न निर्देशन दिएको छ।
चिनियाँ कम्पनी चाइना ओभरसिजसँग सुरुङमार्ग निर्माण गर्न ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ। सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने पहुँचमार्ग, श्रमिकको लागि आवासलगायतका पूर्वाधार निर्माण भइसकेका छन्।
यस्तै यसको हेडवर्कस निर्माण काम पनि सुरु भएको उनले बताए। अहिले उक्त हेडवर्क्स निर्माणको लागि पूर्व तयारीका काम भइरहेको उनको भनाइ छ।
यो आयोजनामा आगामी वर्षको लागि ४ अर्ब ३७ करोड रुपैयाँ छुट्याइएको छ।