काठमाडौं। अवरुद्ध भएको एक महिनापछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। बझाङ जिल्लालाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गको रूपमा रहेको उक्त सडकखण्ड शनिबार साझबाट सञ्चालनमा आएको हो।
कात्तिक ३ गतेको बेमौसमी अविरल वर्षासँगै आएको बाढीका कारण उक्त सडकखण्ड अवरुद्ध बनेको थियो। सेती नदीमा आएको बाढीले जय पृथ्वी राजमार्गको नारुगौंडा र जाल्याबगर सडकखण्ड बगाएपछि सदरमुकाम चैनपुरसम्म जोड्ने सडक अबरुद्ध भएको थियो। सडक अबरुद्ध भएपछि चैनपुरसम्म चलने साना तथा ठूला सवारी साधनहरू पूर्णरूपले अवरुद्ध भएका थिए।
बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार उक्त सडक करिब ३०० मिटर नदीले बगाएको र एक महिनापछि बिस्फोटन पदार्थ प्रयोग गरेर नारुगौडा र सेती नदिको धार परिवर्तन गरेर जाल्या बगरमा यातायात सञ्चालनमा ल्याइएको हो।
सडक खुलेसँगै यात्रुहरूलाई सदरमुकाम चैनपुर जान तथा चैनपुरवाट बाहिरी जिल्लाको यात्रामा सहज हुने बताउदै प्रमुख जिल्ला अधिकारीले सडक संचालनमा ल्याउन आहोरात्र खटिने सडकका कर्मचारी, रास्ट्र सेवक नेपाली सेना, नेपाल प्रहरी र स्थानीय तहलाई धन्यवाद दिए।