चितवन। नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ। ६५ मिटरको सेती दोभानको पुल सञ्चालनमा आएसँगै नारायणगढ–मुग्लिन सडकको दूरी सय मिटर कम भएको छ।
घुमाउरो बाटोका कारण यस क्षेत्रमा सवारी साधन विस्तारै चलाउनु पर्ने बाध्यता थियो। पुल बनेसँगै सडकको दुरी घट्नुका साथै घुमाउरो बाटोको समस्या समेत हटेको छ।
निर्माण सुरु भएको दुई वर्षपछि यो पुल सञ्चालनमा आएको नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ। यस सडकखण्डमा निर्माणाधीन १५ वटा पुलमध्ये उक्त पुल सञ्चालनमा आएको हो। आयोजनाका अनुसार यहि महिनाभित्र लामो बालुवा, डुम्रे, रिग्दी र सिमलताल पुल पनि सञ्चालनमा आउने छन्।
एक अर्ब २७ करोड रुपैयाँमा तीन वर्षअघि १५ पुल निर्माण सुरु गरिएको थियो। तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएको थियो।
पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही २०८० पुस मसान्तमा सकिँदै छ। निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो।
विश्व बैंकको सहयोगमा सडकखण्डका पुल निर्माण गरिएको हो। निर्माणाधीन अन्य आठ पुल दशैँ र तिहारको आसपासमा सञ्चालनमा ल्याउने आयोजनाले जनाएको छ।