बागलुङ। जिल्लाको काठेखोला गाउँपालिका–७ रेश जाने एक्लेखेतदेखि काफलबोटसम्मको सडकको काम अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कबिहीन छन्। सडक कालोपत्रेको काम अलपत्र छाडेर सम्पर्कबिहीन निर्माण व्यवसायीसँगको ठेक्का रद्द गर्नुपर्ने भन्दै स्थानीयले आवाज उठाएका छन्।
स्थानीयवासीले ठेक्का रद्दको मागसहित काठेखोला– ७ वडा अध्यक्ष प्रेम लामिछाने, वडा सदस्य तथा स्थानीयवासीले काठेखोला गाउँपालिकामा ज्ञापन पत्रसमेत बुझाइसकेका छन् । रेश जाने चार किलोमिटर सडक कालोपत्रको जिम्मा पाएको निर्माण व्यवसायीले सडक अलपत्र छोडेपछि स्थानीय तथा जनप्रतिनिधिले नै गाउँपालिका समक्ष ठेक्का रद्दको माग गरेका हुन् । विसं २०७७ मा ठेक्का सम्झौता गरेको निर्माण व्यवसायीले म्याद थप्दा समेत कालोपत्रका लागि कुनै पनि काम गर्न नसकेको स्थानीय बताउँछन्।
निर्माण कम्पनीले म्याद थप गर्नुअघि काममा फर्केपनि एक सय मिटर सडक ढलान गरेर सम्पर्कविहीन भएको काठेखोला गाउँपालिकाले जनाएको छ।
सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा चार किलोमिटर सडक कालोपत्रे गर्न रु ९ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रेको ठेक्का ६ करोड ७१ लाखमा सम्झौता भएको थियो । दुई वर्षमा सडक कालोपत्रे सक्ने गरी एक्लेखेतदेखि काफलबोटसम्मको सडक कालोपत्रेको जिम्मा पाएको जोशी–निशान–आचार्य जेभीको २०७९ साल जेठ २६ गते म्याद सकिएपछि पुनः २०८० साल असार मसान्तसम्म म्याद थप गरेको थियो ।
ठेक्का सम्झौता पश्चात् सडक चौडा पार्ने, नाली बनाउने कार्य गरी सडकको जम्मा ४५ प्रतिशत मात्रै काम मात्रै सकेर निर्माण व्यवसायी पटक–पटक सम्पर्कबिहिन भएको हो ।