काठमाडौं। बारा र रौतहटको ९ हजार ५ सय हेक्टर जमिन सिंचाइ गर्ने लक्ष्य रहेको जुमनी सिंचाइ आयोजनामा करिब ३० करोड खर्च भइसक्दा पनि काम पूर्ण नहुँदा किसानहरुले लाभ लिन भने सकेका छैनन्।
गेटको डिजाइन परिवर्तन गर्नुपर्ने स्थिति बनेपछि काम अधुरो रहेको सम्बद्ध अधिकारीहरु बताउँछन्। जसका कारण २०७२ साल माघ १३ गते निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य भए पनि अझैसम्म काम सकिएको छैन। २२ करोड जति निर्माण कम्पनीले लगेको छ, आयोजनामा लगभग ३० करोड खर्च भइसकेको छ। तर आयोजना अधुरो हुँदा एक जना पनि किसान लाभान्वित हुन सकेका छैनन्, नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख प्रसुन मिश्रले भने, काम सक्न पाए हजारौं किसानले लाभ पाउने थिए।
बाराको आदर्शकोतवाल गाउँपालिका ८ स्थित जमुनी खोलामा सिंचाइका लागि बाँध बनाइएको छ। बारा र रौतहटको ९ हजार ५ सय हेक्टर जमिन सिचाइ गर्ने लक्ष्य आयोजनाको छ।
२२ करोड भन्दा माथीको लागतमा २०७२ साल माघदेखि आयोजनाको काम शुरु भएको थियो। आयोजना सम्पन्न भएपछि ७ हजार ५ सय लिटर प्रति सेकेन्डका दरले नहरबाट जमुनी खोलाको पानी गण्डक नहरमा लगेर खसाल्ने तयारी छ। कुमार, आशिष, अमर जेभी कालिमाटी काठमाडौंले २०७४ साल माघ १४ गते दुई वर्षमा अयोजना सम्पन्न गर्ने गरी काम शुरु गरेको थियो। निर्माण कम्पनीले जिम्मा पाएको काम गरेर भुक्तानी लिएर गइसकेको नारायणी सिंचाइ व्यवस्थापन कार्यालय, वीरगञ्जका इन्जिनियर सुबोध कुशवाहा बताउँछन्।