काठमाडौं। आगामी तीन वर्ष भित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न हुने भएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै आगामी तीन वर्ष भित्र काठमाडौं–निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न भइ यातायात समेत सञ्चालनमा आइसक्ने बताएका हुन्।
उनले मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै यो द्रुतमार्गको निर्माणका लागि आगामी आर्थिक वर्षका लागि २२ अर्ब बजेट व्यवस्था गरिएको जानकारी दिए।
नेपाल सरकारको निर्णय अनुसार काठमाडौं निजगढ द्रुततमार्गको निर्माण कार्य नेपाली सेनाद्वारा द्रुतगतिमा अघि बढिरहेको उनको भनाइ छ। मन्त्री ज्वालाले भने, ‘२०८३ साल भित्र निर्माण कार्य सम्पन्न गरी यातायात सञ्चालन गरिने कुरा यो सदनलाई म जानकारी गराउन चाहन्छु ।’
उनले मन्त्रालयको बजेट चालू आर्थिक वर्षको भन्दा करिब ३७ अर्ब घटेकाले सबै क्षेत्रको मागलाई सम्बोधन गर्न सकिने अवस्था नरहेको स्पष्टीकरण समेत दिए ।
मन्त्री ज्वालाले भौतिक पूर्वाधार तथा यातायात क्षेत्रको निर्माण कार्यलाई तोकिएकै समयमा सम्पन्न गराउन र गुणस्तरीय बनाउन आफू लागिपर्ने समेत बताए ।
उनले भने ‘भौतिक पूर्वाधार मन्त्रालयको बजेटको बाँडफाँड असन्तुलित भएको सम्बन्धमा पनि केही जिज्ञासाहरू उठेका छन् । हाम्रो मन्त्रालयको बजेट सिलिङ चालू आर्थिक वर्षको भन्दा करिब ३७ अर्ब घटाइएकाले बजेट बनाउन र सन्तुलन कायम गर्न निकै कठिनाइ भएको यथार्थताबारे माननीयज्यूहरू जानकार हुनुहुन्छ । समय र बजेट कटौतीको चापले सोचेजस्तो सन्तुलन र सबैलाई सम्बोधन गर्न नसकेकोमा दुःख लागेको छ । सकेसम्म सन्तुलन कायम गर्न खोजिएको अनुरोध गर्न चाहन्छु ।’