काठमाडौं। नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ। निरन्तर सुख्खा पहिरो खसेर अवरुद्ध भइरहेको सडक शुक्रबार साँझदेखि एकतर्फी खुलेपनि आइतबार बिहानैदेखि पुनः अवरुद्ध बनेको हो।
इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकैको तीन नम्बर पुल क्षेत्रको सडक अवरुद्ध भएको छ । बिहीबार मध्यान्न १:२० बजे देखि लगातार खसेको सुख्खा पहिरोका कारण अवरुद्ध बनेको सडक शुक्रबार अपराह्न ६ बजे एकतर्फी खुले पनि अवरुद्ध बनेका गाडीहरू पुरै पार हुँदहुँदै आइतबार बिहान ३:३० बजे देखि पुनः अवरुद्ध बनेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लगातार ढुङ्गासहितको सुख्खा पहिरो खसिरहेको पहिरो जसोतसो पन्छाउने काम भएको थियो । तर, रोकिएका यातायातका साधन पुरै पास गर्दा नगर्दै परेको अविरल वर्षासहितको पहिरोले पुन सडक रोकिएको छ।
पहिरो गइरहेको क्षेत्रको मुग्लिन तर्फ र नारायणगढ तर्फ तयारी अवस्थामा एस्काभेटर र डोजर तयारी अवस्थामा राखिएका छन् । तर पनि पानी परिरहेको र लगातार ढुङ्गा खसिरहेको कारण पहिरो पन्छाउने काम सुरु गर्न सकिएको छैन ।