काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाटै भेरी–बबई डाइभर्सन आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको भौतिक प्रगति र समस्याबारेमा जानकारी लिएका छन्। शुक्रबार प्रधानमन्त्री प्रचण्डले बहुउद्देश्यीय प्रकृतिका यी दुई महत्वपूर्ण आयोजनाको निर्माण प्रक्रियाबारे जानकारी लिएका हुन्।
एक्सन रुमलाई नियमितरुपमा सक्रिय बनाउने लक्ष्यका साथ प्रधानमन्त्रीले शुक्रबार पहिलो पटक ती आयोजनाको पछिल्लो अवस्थाबारेमा जानकारी लिएका छन्। ती दुवै आयोजना नदी पथान्तरण आयोजना हुन् । दुवैमा ‘टनेल बोरिङ मेशिन’ (टिबिएम)को प्रयोग गरिएको छ ।
भेरी–बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रिया पूरा भए पनि हाल बाँधस्थल, विद्युत्गृहलगायतको निर्माण जारी छ । विसं २०७७ मा नै आयोजनाको कूल १२ दशमलव दुई किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भए पनि अन्य काम भने अपेक्षित रुपमा अगाडि बढ्न सकेको छैन ।
आयोजनाको समग्र अवस्थाबारेमा आयोजना प्रमुख दिनेश भट्टले जानकारी गराउँदै कोरोना कहरलगायतले अपेक्षित काम हुन नसकेको जानकारी गराए ।
त्यसैगरी सुनकोशीको पानी मरिण खोलामा खसालेर मधेस प्रदेशमा सिँचाइ र खानेपानी सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु भएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा भने उल्लेख्य प्रगति भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजनाको सुरुङ निर्माण भएको नौ महिनामै कूल सात दशमलव ९६ किलोमिटर निर्माण सम्पन्न भएको छ । गत असोज २८ गतेदेखि सो आयोजनाको सुरुङ निर्माण सुरु भएको हो ।
आयोजना प्रमुख मित्र बरालका अनुसार सुरुङ निर्माणमा अपेक्षित प्रगति भएको र हालसम्मको भौतिक प्रगति ५३ प्रतिशत बराबर पुगेको छ । सो आयोजनाको सुरुङको कूल लम्बाइ १३ दशमलव एक किलोमिटर छ । टनेल बोरिङ मेशिन (टिबिएम)को प्रयोग गरिएकाले सोचेभन्दा धेरै राम्रो प्रगति भएको आयोजनाको भनाइ छ ।