सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको इन्द्रावती नदीमा बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ। चार स्थानीय तहलाई जोड्ने पक्की पुल बाढीले बगाएको २ वर्षपछि मेलम्ची बजारको इन्द्रवाती नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भएको हो।
नेपाली सेनाले निर्माण गरेको उक्त बेलिब्रिजको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गरेका छन्।
पुल उद्घाटन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि त्यहाँका स्थानीयले धेरै सास्ती बेहोरिरहेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्चीमा निर्माण थालेको छोटो समयमै बेलिब्रिज तयार भएकोमा खुसी व्यक्त गरे। नेपाली सेनाले ४० लाख रुपैयाँको लागतमा ३० दिनमा सो बेलिब्रिज निर्माण गरेको छ।
लामो समयदेखि बेलिब्रिज निर्माणमा राजनीतिक दलको आन्तरिक किचलोका कारण दुई वर्षसम्म पुल बन्न सकेको थिएन। नेपाली सेनाले समयमै काम सम्पन्न गर्ने विश्वास बोकेर स्वास्थ्यमन्त्रीले नेपाली सेनाका प्रधान सेनापतिलगायत उच्च अधिकारीलाई भेटेर समयमै पुल बनाइदिन आग्रह गरेपछि सो पुलको निर्माण समयमै भएको उल्लेख गरे।