बागलुङ । बागलुङमा निर्माण हुने भनिएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन शुरु गरिएको छ । वि.सं. २०६१ सालदेखि चर्चामा रहेको यस आयोजनाको सम्भाव्यता अध्ययन गरेको दुई वर्षपछि डिपिआर थालिएको हो ।
सम्भाव्यता अध्ययन सम्पन्न पश्चात् डिपिआरको काममा उत्तरगङ्गा पावर कम्पनीले इरानी कन्सल्टेन्सी शहिद वहिद डास्ग्रेडी तेहरानलाई सम्झौता गरेर काम थालेको छ । योसँगै १७ वर्षअघि देखि चर्चामा रहेको आयोजना अगाडि बढ्ने संकेत देखिएको छ ।
गत असोजबाट काम थालेको कन्सल्टेन्सीले स्थलगत काम अन्तिम चरणमा पुर्याएको आयोजनाको काम गर्दै आएको सो पावर कम्पनीले जनाएको छ । विद्युत् प्राधिकरण मातहतमा रहेको उक्त कम्पनीले दुई वर्ष पहिले सम्भाव्यता अध्ययन गरेर सकेको थियो । अहिले कम्पनी ठेक्कामा जानुअघि गरिने सबै चरणका काम पूरा गर्ने गरी काम भइरहेको कम्पनीका प्रबन्ध निर्देशक अम्बिकेश झाले जानकारी दिए
उनका अनुसार उत्तरगङ्गा पावर कम्पनीले निरन्तररुपमा आयोजनाको काम गरिरहेको र ठूलो आयोजना भएकाले समय बढी खर्च भइरहेको बताए । उनले बाहिर आयोजना निर्माणमा भएको ढिलाइ नभएर निरन्तररुपमा आयोजनाको प्रक्रियागत काम भइरहेको बताए ।