काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको वायु सेवालाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को कालो सूचीबाट हटाउन पहल भइरहेको बताएका छन्। आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपाल हाल पनि आइकाओको कालो सूचीमा रहेको र यसलाई हटाएर पर्यटन प्रवद्र्धन गर्नका लागि पहल भइरहेको बताएका हुन्।
बेलायतको एक हप्ताको कार्यक्रममा जाँदा मैले आइकाओको ब्ल्याक लिष्टबाट नेपाललाई छिट्टै हटाउन आग्रह गरेको उनले जानकारी दिएका छन्। साथै नेपाल आइसकेपछि मन्त्रालयबाट पनि पत्राचार गरेर कुरा अगाडि बढाएको पनि बताएका छन्। सन् २०१३ देखि नेपालको वायु सेवा आइकाओको कालोसूचीमा रहँदै आएको छ।
त्यसैगरी भारतका मुख्य सहरहरुमा थप उडान भर्ने तयारी भइरहेको पनि जानकारी दिएका छन्। भारतीय र नेपाली नागरिकबाहेक अन्य आवतजावतको वातावरण थिएन, तर हाल एयर बबल हटेको र अब छिट्टै बैंङलोर, कलकत्ता, मुम्बई, चेन्नाईलगायतका सहरमा पनि उडान नियमित हुने उनको भनाइ रहेको छ।
कोरोना त्रास अझै कायमै रहेकाले पर्यटन क्षेत्रको विकास हुन नसकेको उनले बताएका छन्। कोभिड पूरै समाप्त नभएकाले भ्रमण वर्ष घोषणा गर्ने वा नगर्ने भन्ने विषय छलफलमै रहेको उनले जानकारी दिएका छन्। त्यसैगर सन् २०२० लाई भ्रमण वर्ष मनाउने घोषणा गरिए पनि कोभिड महामारीका कारण स्थगित भएको थियो। भरतपुर विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालय सकारात्मक रहेको पनि उनले जानकारी दिएका छन्।