काठमाडौं। काठमाडौं–तराईरमधेस द्रुतमार्गमा २० अर्बको तीन खण्डको ठेक्का आह्वान गरिएको छ। नेपाली सेनाले सडक र पुल गरी करिब २० अर्बको ठेक्का पुन: निकालेको हो।
आयोजनाले बिहीबार एक सूचना जारी गर्दै प्याकेज नम्बर ८ को खण्ड ‘ख’ र प्याकेज नम्बर ९ को खण्ड ‘क’ र ‘ख’ गरी ३ वटा खण्डको पुन: ठेक्का आह्वान गरेको हो। आयोजनाले प्याकेज नम्बर ८ को एउटा खण्ड र प्याकेज नम्बर ९ को दुवै खण्ड गरी जम्मा ३ वटा खण्डको ठेक्का निकालेको सेनाले जनाएको छ।
यसमा डबल लेन क्यारिजवे भएको स्ट्यान्डर्ड एक्सप्रेस वे सडक, पुलहरु, स्लोप स्टेबलाइजेसन र अलाइड वर्क्सहरु रहेका छन्। यी प्याकेजमा कुल ११.२९ किलोमिटर सडक निर्माण गर्ने योजना छ। जसमा २.९६५ किलोमिटर लम्बाईका २१ वटा पुलहरु निर्माण गरिने छ।
यो आयोजना सरकारको आफ्नै लगानीमा निर्माण भइरहेको छ। जसको लागत २ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। यो आयोजनाको म्याद २०८३ चैतसम्मका लागि थपिएको छ।
सेनाले यसअघि पहिलो पटक निकालिएको ठेक्कामा आवश्यक कागजात नभएको भन्दै रद्द गरेर पुन: ठेक्का निकालेको हो। यो ठेक्का गत वैशाख ८ गते र १० गते ठेक्का निकालिएको थियो। गत असार ४ र ५ गतेसम्म टेण्डर आवेदनको समयावधि दिइएको थियो। तर आवेदन दिएकाले आवश्यक कागजात पूरा नदिएको पाइएपछि ठेक्का रद्द गरिएको थियो।