काठमाडौं। गण्डकी प्रदेश र लुम्बीनी प्रदेश जोड्ने कालीगण्डकी नदीमाथि मोटरेवल पुल निर्माण भइरहेको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बेल्टारी र पाल्पाको बगनासकाली गाउँपालिका–६ दर्पुक जोड्न गरी नयाँ मोटरेवल पुल बन्न थालेको हो।
सडक विभाग पुल महाशाखाअन्तर्गत सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय पुल सेक्टर पोखरा र गौरी पार्वती न्यू टेक्निकल जेभी कुपण्डोल ललितपुरबीच १५ करोड ४९ लाख रूपैयाँमा पुल निर्माण गर्नेगरी २०७९ भदौमा सम्झौता भएको थियो।
उक्त पुल १२० दशमलव ८० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ। पैदलयात्रुका लागि दायाँबायाँ फुटपाथ निर्माण गरिने छ। कालीगण्डकी लोकमार्ग र कालीगण्डकी कोरिडोरसमेत जोड्ने पुलले पाल्पाको मिसन अस्पताल, पर्यटकीयस्थल रानीघाट, तराईका जिल्लामा आवगमन गर्न सहज हुने छ।