फाइल तस्बिर
मनाङ। मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुलको निर्माण कार्य सात वर्षमा ३० प्रतिशत मात्र पूरा भएको छ। सात वर्षअघि ठेक्का सम्झौता भएको पुलको हालसम्म दुवैतिर जगमात्र बनेको छ।
सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको उक्त आयोजना विसं २०७३ असार २० मा निर्माण कम्पनी क्याराभानसँग ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको थियो।
जिल्ला विकास समिति छँदै ठेक्कामा गएको उक्त पुल सात वर्ष बित्दा समेत बन्न सकेको छैन । निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल अलपत्र परेको पूर्वाधार विकास कार्यालय मनाङले जनाएको छ।
कार्यालयका अनुसार पुलको दुवैतिर जगमात्र बनेर बाँकी काम अलपत्र छ। निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा पनि काम हुननसकेको कार्यालयले जनाएको छ।