बुटवल। हाल वर्षाका कारण देशभरका विभिन्न स्थानमा पहिराे गइ विभिन्न सडकखण्ड अवरुद्ध छन्। पहिराेले सडक अवरुद्ध हुँदा सवारी साधन राेकिएपछि यात्रुहरू बीच सडकमै अलपत्र परेका छन्। निरन्तरकाे वर्षाले पहिराे तत्काल पन्छाएर सवारी साधन सञ्चालन गर्ने अवस्था समेत नहुँदा यात्रुहरू घण्टाैंसम्म सडकमै अलपत्र परिरहेका छन्।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ। गएरातिदेखि परेको अविरल वर्षाले पाल्पाको तिनाउ गाउँपालिका–३ हेड बक्स नजिक पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सडक माथिबाट ढुंगा र लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो।
पहिरो हटाउने काम सुरु भएपनि सवारी सञ्चालन हुन केही समय लाग्ने दोभान प्रहरी चौकीले जनाएको छ। सडक अवरुद्ध भएपछि सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, स्याङ्जा, पोखरा, गुल्मी, अर्घाखाँचीलगायतका स्थानमा जाने र आउने सवारी साधन बीच बाटोमै रोकिएका छन्।
त्यसैगरी पहिरोले कालीगण्डकी करिडोर अन्तर्गत राम्दी–रामपुर सडकखण्ड पनि अवरुद्ध भएको छ। पाल्पाको रम्भा गाउँपालिका–१ चाँदी खोलामा सडक माथिबाट लेदोसहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो।
यसैगरी प्युठानको माण्डवी गाउँपालिका–१ गर्जेनीमा सडक माथिबाट लेदो र ढुङ्गासहितको पहिरो झरेपछि भालुबाङ–प्युठान सडक खण्ड अवरुद्ध भएको छ। सवारी सञ्चालनका लागि पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।