मोरङ। बाढीले बगाएको ६ वर्षपछि सुनसरी–मोरङ सिँचाइ आयोजनाको लोहन्द्रा खोलास्थित साइफन र पुल निर्माण सम्पन्न भएको छ । निर्माण पूरा भएको पुलको मंगलबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले उद्घाटन गरेका छन्।
६ वटा स्पान रहेको १५३ मिटर लामो उक्त पुल निर्माणका लागि कूल लागत ४७ करोड २५ लाख रहेकोमा आशिषरस्वामिनारायणरआशिर्वाद जेभी धरानले २९ करोड ९७ लाख ५६ हजारमा ठेक्का लिएको थियो । सुनसरी–मोरङ सिँचाइ आयोजनाले निर्माण कम्पनीले २०७६ मा २०८० भदौसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता गरी सुरु गरेको पुल निर्माण तीन महिना अगाडि नै सम्पन्न गरेको जानकारी दिएको छ।
पुल निर्माणका लागि मूल्य समायोजन, भेरिएशनलगायत गरेर ३४ करोड ९ लाख निर्माण कम्पनीलाई भुक्तानी दिइएको छ । सुरुमा एक लेनको निर्माण गरिएको उक्त पुल अहिले दुई लेनको राजमार्गको मापदण्डमा निर्माण गरिएको छ। बाढीले बगाएको साफाइन निर्माण कम्पनीले गत वर्ष नै निर्माण सम्पन्न गरेपछि पानी सञ्चालन गरिएको थियो ।
पुल निर्माण भएपछि मोरङका करिब १० पालिकाका किसानले आ–आफ्ना उत्पादन बजारसम्म पुर्याउने सहज सडक बाटो उपभोग गर्ने अवस्था पुनः प्राप्त गरेका छन्।
२०७४ सालको साउन २९ गते आएको बाढीले १ सय ३८ आरडीस्थित लोहन्द्रा खोलाको साइफन र पुल बगाउँदा लामो समयसम्म मोरङको १२ हजार हेक्टर क्षेत्रफल सिँचाइविहीन भएको थियो ।