काठमाडौं। कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बाढी पहिरोका कारण अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।
बुधबार रक्षा मन्त्रालयमा विपद् व्यवस्थापन लगायतका विषयमा भएको बैठकमा मन्त्री खड्काले बाढी पहिरो लगायतका कारण जनधनको क्षति हुन नदिन र अवरुद्ध सडक तत्काल सञ्चालनको व्यवस्था गर्न निर्देशन दिएका हुन्।
छलफलमा कार्यबाहक प्रधानमन्त्री खड्का समक्ष सम्वन्धित अधिकारीहरुले देशका विभिन्न ठाँउमा गएको बाढी पहिरो, जनधनको क्षति र राजमार्ग अवरुद्ध लगायतका विषयमा जानकारी गराएका थिए ।
सो अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले बाढी पहिरोबाट कोही नागरिक पीडित भइहाले तत्काल उद्दार तथा राहातलाई उच्च प्राथमिकता दिन निर्देशन दिए । पीडितलाई राहत वितरणका सम्बन्धमा कुनै कानूनी वाधा अड्चन भएमा त्यसलाई तत्काल फुकाएर काम गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिए । उनले देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीलाई विपद्को पूर्व आँकलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकीकृत रुपमा समन्वय गरी काम गर्नुपर्नेमा जोड दिए ।