पाल्पा । केही दिनदेखिको अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत निर्माण सुरु भएको सिद्धबाबा सुरुङमार्गको उत्तर र दक्षिणतर्फको प्रवेशविन्दु पुरेको छ । चार दिनअघि दक्षिण सिद्धबाबा मन्दिरतर्फको सुरुङ प्रवेशविन्दु रिब पोर्टल पहिरोले पुरेको थियो ।
उत्तरतर्फ हेडबक्स रामापिथेकसपार्कतर्फ रहेको सुरुङ प्रवेशविन्दुमा पनि पहिरो खसेर पुरेको छ । दुवैतर्फको सुरुङ प्रवेश मार्गमा पहिरो खसेको हो । उत्तरतर्फको भागमा ठूलाठूला ढुंगासहितको पहिरो खसेको छ । उत्तरतर्फको प्रवेशविन्दुमा जोखिमपूर्ण ढुंगा भिरमा अड्किएको छ । पानी पर्नासाथ पुनः पहिरो खस्ने जोखिम रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयले जनाएको छ।
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको जोखिमयुक्त सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणका लागि प्रारम्भिक काम अघि बढेको हो । सुरुङमार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले साउथ र नर्थ पोर्टलमा प्रवेशविन्दु ‘रिब’ राखेर एङ्करिङको काम सुरु गरेको थियो । सडक विभागका कर्मचारी र स्विस सरकारका कन्सल्ट्यान्डबीच डिजाइन स्वीकृत नभएकाले काममा भने तीव्रता दिएको थिएन । सुरुङ् सुरु हुने उत्तर र दक्षिणको प्रवेशद्वारमा एङ्करिङ गरेर त्यसको माथि कंक्रिटको काम सुरु गरेको अवस्थामा पहिरोले पुर्ने र क्षति पुर्याएको आयोजनाले जनाएको छ।
दुवै प्रवेशविन्दुमा साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्टलगायतका पूर्वतयारीका काम गत फागुन दोस्रो हप्तादेखि सुरु भएको आयोजनाले जनाएको छ ।