काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले त्रियुगा नदीमाथिको पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन्। मन्त्री ज्वालाले आइतबार सडक विभागको पुल महाशाखा र निर्माण व्यवसायीलाई १३ वर्षदेखि अलपत्र उक्त पुलको निर्माण कार्य एक वर्षभित्र सम्पन्न गर्न निर्देशन दिएका हुन्।
निर्माण कम्पनीले सम्पन्न गरेर हस्तान्तरण नहुँदै भत्किएको सो पुल भत्किएको दुई वर्षसम्म अलपत्र भएपछि उदयपुरबाट प्रतिनिधित्व गर्ने सांसद, स्थानीय जनप्रतिनिधि ध्यानाकर्षणका लागि आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेका थिए । मन्त्री ज्वालाले निर्माण व्यवसायीलाई पनि मन्त्रालयमा बोलाएर छलफल गरेका थिए।
त्रियुगाको पुल एक वर्षभित्र सक्नेमा ढुक्क रहन मन्त्री ज्वालाले सरोकारवालालाई आश्वासन दिए । निर्माण सुरु भएको १२ वर्षसम्म नागरिकले पुलमा हिड्न नपाउनु दुर्भाग्य भएको उनको भनाइ छ । मन्त्रालय, स्थानीय जनप्रतिनिधि र निर्माण व्यवसायीको संयुक्त प्रयासमा यो पुलको निर्माण एक वर्षभित्र सकिने विश्वास व्यक्त गरे।
मन्त्रालयका कार्यवाहक सचिव अर्जुन थापाले ‘क्रोनिक’ ठेक्काका रुपमा रहेका पुल समस्या समाधान गरेर बनाउन लागिएको बताए। हाल देशभर साढे चार हजार पुलको निर्माण भइरहेको उनले जानकारी दिए।
उदयपुरको चौदण्डीगढीको शिवाई र बेल्ही जोड्ने त्रियुगा पुल वर्षौँदेखि अलपत्र छ । अलपत्र पुलका विषयमा छलफल गर्न उदयपुरका सांसद तथा पूर्वमन्त्री नारायण खड्कासहितको टोली मन्त्रालय पुगेको थियो । सांसदसहितको टोलीलाई मन्त्री, कार्यवाहक सचिव अर्जुन थापा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकालसहितको छलफलमा निर्माण कम्पनीले एक वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ ।