काठमाडौं। चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका-२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले समृद्ध तराई-मधेश कार्यक्रमअन्तर्गत आयोजना सुरु भएको भन्दै भरतपुर र माडी क्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको बताइन्।
उनका अनुसार यी क्षेत्रमा रु चार अर्बको लगानी हुने छ। किसानले अब सिँचाइ अभाव महसुस गर्नु नपर्ने उनले बताइन्। उक्त अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यलगायतको उपस्थिति थियो।
चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङवोका अनुसार उक्त क्षेत्रमा पाँच डिपट्युबेल प्रणाली निर्माण गरिएका छन्। यसबाट २०० हेक्टर जमिन सिञ्चित हुने छ। जिल्लाका विभिन्न क्षेत्रमा यस कार्यालयले १७ ट्युबेल प्रणाली निर्माण गरिसकेको छ । ती ट्युबेल निर्माण गर्न रु १३ करोड ६० लाख खर्च भएको उहाँले बताउनु भयो।