काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अविरल वर्षा र बढी पहिरोका कारण क्षति भएका सडक र पुल तत्काल निर्माण गर्न निर्देशन दिएका छन्।
मन्त्री ज्वालाले अविरल वर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल सङ्कलन गर्न र तत्काल पुनःनिर्माणमा सुरु गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन्।
सोमबार अपरान्नदेखि परेको अविरल वर्षाले देशका विभिन्न ठाउँमा मानवीय र भौतिक क्षति भएको छ । उनले देशभरका सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल सङ्कलन गर्न समेत निर्देशन दिएका छन् ।
अविरल वर्षापछि सुदुरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ। ठाउँठाउँमा पहिरो गएको सडक विभागले जनाएको छ। सडक भासिएपछि आवत–जावत पूर्णरूपमा बन्द भएको छ। मन्त्री ज्वालाले भीमदत्त सडकको तत्काल पुनःनिर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिए ।
निर्माणधीन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मुल गेट नजिकै पहिरो जाँदा बुटवल–पाल्पा सडक अवरुद्ध बनेको छ । अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मन्त्री ज्वालाले सम्बन्धित क्षेत्रका निर्देशकहरुलाई निर्देशन दिएका छन् ।