काठमाडौं। मनकामनामा ३५ करोड लगानीमा रिसोर्ट बन्ने भएको छ। चितवन को-ई समुहअन्तर्गतको मनकामना दर्शन प्रालिले मनकामना केबल कारको टप स्टेशनमा कुल ३५ करोड १८ लाख रुपैयाँ लगानीमा रिसोर्ट निर्माण गर्ने भएको हो।
जम्मा ४० कोठा क्षमताको निर्माण हुने रिसोर्ट लग्जरी सेगमेन्टको हुने कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले जानकारी दिए। नौ रोपनी क्षेत्रफलमा निर्माण हुने रिसोर्ट अबको डेढ वर्षभित्र निर्माण सम्पन्न गरेर संचालनमा ल्याइने छ।
श्रेष्ठका अनुसार मनकामना क्षेत्रको धार्मिक एवं पर्यटकीय प्रवर्द्धन गर्ने उद्धेश्यले रिसोर्ट संचालनमा ल्याउन लागिएको हो। रिसोर्ट संचालनमा आएसँगै स्थानीय रोजगारी सिर्जना र स्तरीय पर्यटकको आवगमनमा वृद्धि हुनेमा आफू विश्वस्थ रहेको उनले बताए। रिसोर्टमा स्ट्याण्डर्ड रेष्टुरेण्ट, एक सय जना क्षमताको कन्फ्रेन्स हल लगायतका सुविधा समेत रहने श्रेष्ठले जानकारी दिए।