काठमाडौं। गत वर्ष सडक विभागको प्रगति करिब ६९ प्रतिशत पुगेको छ। विभिन्न किसिमका अवरोध हुँदाहुँदै पनि सडक विभागको प्रगति झण्डै ६९ प्रतिशत पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिएका हुन्।
चालु वर्ष समयमा कामको प्रगति अझै बढाउने बताइएको छ। अझै पनि अपेक्षा गरेअनुसार पूर्वाधार क्षेत्रमा प्रगति नभएको सडक विभागले जनाएको छ। अन्तिम चौमासिकमा बजेट व्यवस्थापन हुन नसक्दा कामको प्रगति जति हुनसक्थ्यो त्यति हुन नसकेको बताइएको छ। विभागले ८० प्रतिशत प्रगति हुने अपेक्षा गरेको भए पनि त्योअनुसार हुनसकेको हो।
गत वर्ष देशभरमा आठ सय २० किमी सडक कालोपत्र सो अवधिमा दुई सय ४९ किमी सडक पुनः निर्माण भएको छ। गतवर्ष दुई सय ४३ किमी नयाँ ट्र्याक खुलेको र छ सय २८ किमी खण्डस्मिथ भएको विभागले जनाएको छ । गतवर्ष सात सय ६१ किमी सडक आवधिक मर्मतको लक्ष्य रहेकामा पाँच सय ३८ किमी सम्पन्न भएको छ ।
राष्ट्रिय गौरबका आयोजनामा प्रगति राम्रो रहेको विभागले जनाएको छ । नागढुङ्गा–नौबिसे सडकखण्ड स्तरोन्नतिको काम जारी रहेको विभागले जनाएको छ । सो सडकखण्डमा तीन प्याकेजमा ठेक्का भएर काम सुरु भएको विभागले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही सडक स्तरोन्नतिका लागि ठेक्का व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नतिका लागि पूर्व तयारीको काम सम्पन्न गरेर निर्माणका लागि खरिद प्रक्रिया तयारी भएको छ ।