बाजुरा। बाजुरा जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने जगनाथ गाउँपालिकाको अवरुद्ध भएको भुवा खोला लघु जलविद्युत आयोजना पुन सञ्चालनमा आएको छ ।
साउन २९ गते राती परेको अविरल बर्षातका कारण नहरमा पहिरो गएपछि अवरुद्ध बनेको आयोजना पुन सञ्चालनमा आएको हो। स्थानीयको श्रमदानमा भत्किएको नहर मर्मत गरेपछि भुवा खोला लघु जलविद्युत पुन सञ्चालनमा आएको हो।
२०७० सालमा यो गाउँपालिकामा बत्ती बले पनि २०७९ असोज १९ देखि २५ गते आएको अविरल वर्षाका कारण भुवा खोला जलविद्युतको नहर भत्किँदा पहिला पनि यहाँका स्थानीयलाई अँध्यारोमा टुक्की बाल्दै आउनु परेको थियो ।
२०८० जेठ २२ गते वैकल्पिक ऊर्जाको ५० लाख गाउँपालिकाको पाँच लाख र सुदूरपश्चिम सरकारको २० लाखमा सो विद्युत्को नहर मर्मत भएपछि गाउँमा बिजुली बलेको थियो । भुवा खोलामा उत्पादन भएको एक सय किलोवाटको विद्युत्बाट स्वामिकार्तिक २ र जगनाथ गाउँपालिकाका ५ र ६ गरी झन्डै एक हजार भन्दा भन्दा बढी घरपरिवार लाभान्वित भएको जगनाथ गाउँपालिकाले जनाएको छ।