चितवन। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बताएका छन्। भरतपुर विमानस्थलमा पत्रकारहरुसँग आज कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यसैवर्ष औपचारिक रुपमा घोषणा समेत गरिने बताएका हुन्।
उनले भने, “औपचारिकता दिनुपर्ने केही काम बाँकी छन्, त्यो पनि अन्तिम चरणमा आइपुगेको छ । सम्झौतापछि कार्यान्वयनमा जान्छ ।” उनले सुख्खा र वर्षा दुवै समयमा नेपाल विद्युत्मा आत्मनिर्भर हुन लागेको बताए।
वर्षामा विद्युत् बढी उत्पादन हुने र सुख्खायाममा अपुग हुने स्थिति छिट्टै समाधान हुने मन्त्री बस्नेतको दाबी छ । उत्पादन वृद्धि गरेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम हाल भइरहेको उनले बताए। अबको सुख्खा सिजनमा अहिले देखिएका समस्या समाधान भएर जाने उनको भनाइ छ।