चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आँपटारीस्थित न्यु भरतपुर २२०/१३२ केभी सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गर्दै छन् । उद्घाटनका लागि प्रचण्ड हवाई उडानमार्फत चितवन जादै गरेका हुन्।
प्रधानमन्त्रीले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना तथा मर्स्याङ्दी कोरिडोरको ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधिमा आधारित सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआइबी) को सहुलितपूर्ण ऋणमा सबस्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो ।
सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कूल लागत एक अर्ब ५२ करोड छ ।