काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)बाट सम्भव भएको बताएका छन्।
भरतपुर सबस्टेसन र हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले मुलुकमा लोडसेडिङ अन्त्यदेखि अहिलेसम्मको विद्युत क्षेत्रको विकासमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रधानमन्त्रीको भूमिका रहेको बताएका हुन्।
उनले १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रूपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रूपमा प्राधिकरणलाई दिने कुरा सकारात्मक रहेको बताए। उनले प्राधिकरणले उक्त परियोजना देशको समृद्धिमा ठुलो योगदान पुर्याउने गरी काम गर्ने बताए।
उनले भने,‘‘प्रधानमन्त्री पुष्पकमल दाहालको प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लोडसेडिङ अन्त्यदेखि ऊर्जा क्षेत्रको विकास गर्न निर्देशन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको सहभागिता ऊर्जा क्षेत्रको आजको अवस्थामा आएका छौँ। नेपालको विद्युतीय क्षेत्र अहिले धेरै अगाडि बढेको छ। अहिले सयौँ सब–स्टेशन र विद्युत उत्पादन परियोजना बनिरहेका छन्। अब केही समयमा धेरै सब–स्टेशनहरुको उद्घाटन गर्दैछौं। धेरै हाइड्रोपावरको उद्घाटन गर्दैछौं। १२०० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत रूपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रूपमा प्राधिकरणलाई दिने भन्नुभएको छ। यो परियोजनाले देशको समृद्धिमा ठुलो योगदान पुर्याउन मद्दत गर्नेछौँ।’’