काठमाडौं। ‘नेपाल इभी तथा नेपाल पावर लाइट एण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला सुरु भएको छ । विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ शुक्रबारदेखि ‘नेपाल इभी तथा नेपाल पावर लाइट एण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला सुरु भएको हो।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मेलाको शुभारम्भ गरेका छन्। उद्घाटन कार्यक्रममा उनले मुलुक क्रमशः ऊर्जामा आत्मनिर्भर हुँदै गएकाले विद्युतीय सवारीसाधन र उपकरणको प्रयोगलाई बढावा दिने उद्देश्यका साथ सरकारले आफ्ना नीति तथा कार्यक्रम अगाडि बढाएको जानकारी दिए । उनले सरकार दीर्घकालीन सोचका साथ ऊर्जा क्षेत्रको विकासका लागि प्रयत्नशील रहेको बताए ।
ऊर्जा क्षेत्रको समयानुकूल विकासका लागि सरकारले हालैमात्र नयाँ विद्युत् विधेयक तय गरेको र सङ्घीय संसद्मा पेस हुने चरणमा रहेको मन्त्री बस्नेतको भनाइ छ । विद्युतीय सवारीसाधनको प्रवद्र्धनका लागि देशभर नै चार्जिङ स्टेशनको निर्माणलाई अभियानका रुपमा अगाडि बढाउने लक्ष्यका साथ काम भइरहेको उनले बताए ।