काभ्रे। अर्थमन्त्री डा.प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट नरोकिने बताएका छन्। जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई धुलिखेलमा सम्बोधन गर्दै मन्त्री महतले विस्तार भइरहेको अरनिको राजमार्गको लागि कुनै पनि कारणले बजेट नरोकिने बताएका हुन्।
तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड बिस्तारकार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख बजेट छ भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमिमा रु तीन अर्ब ८८ करोड ९३ लाखमा ठेक्का सम्झौता गरिएको छ ।
मन्त्री डा.महतले अरनिको राजमार्गअन्तर्गतकै कोदारी सडकखण्ड पुनर्निर्माणको बारेमा छिमेकी मुलुक चिनले चासो दिएको उल्लेख गर्दै उक्त सडक स्तरोन्नतिले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकलाई व्यापारलगायत उत्पादनमूलक क्षेत्रमा वृद्धि गर्न मद्दत गर्ने बताए। उक्त सडकको स्तरोन्नतिले पनि यस क्षेत्रको पर्यटन र कृषिमा टेवा पुग्ने र यसकै कारण आर्थिक गतिविधि चलायमान भई नागरिकमा थप जागरुकता पैदा गर्ने विश्वास व्यक्त गरे।