काठमाडौं। कृषि तथा पशुपक्षीमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रको सबैभन्दा ठूलो सिँचाइ समस्या चाँडै समाधान गर्ने बताएका छन्। मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले सिँचाइ समस्या जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले अहिले पनि हाम्रो खेतीयोग्य जमिनको आधा मात्रै पनि सिँचाइ हुन नसकिरहेको बताए। उनले भने, ‘४८ प्रतिशत जमिन मात्रै सिँचाइ भएको छ, त्यो पनि बर्खापासमा मात्रै बाह्रैमास सिँचाइ भनेको १७/१८ प्रतिशतभन्दा छैन, जहाँ हामी खेती गर्छौं।”
उनले सबैभन्दा पहिला सिँचाइको व्यवस्थापन गरेपछि मात्रै उन्नतशील बीउको विकास गर्ने, मलको अभाव पूरा गर्ने, यान्त्रिकीकरणमा जाने, बजारको व्यवस्थापन गर्ने र आधुनिकीकरणमा जान सकिनेमा जोड दिए। विशेषगरी युवा पुस्तालाई कृषि क्षेत्रमा आकर्षण गर्ने गरी नीतिहरू बनाउनुपर्ने उनको भनाइ छ।
यसै वर्ष चैते धान १ लाख हेक्टरमा लगाउने योजना सुनाउँदै कृषि क्षेत्रको उत्पादनका निम्ति कुनै न कुनै किसिमको उत्पादनशील अभियानमा जानुपर्ने उनले बताए।