काठमाडौं। आएमई समुहले तिप्ल्याङ्ग कालीगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। निर्माण गर्न लागिएको आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न भएको हो।
नेपाल विद्युत् प्राधिकरणमा आयोजित एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग र तिप्ल्याङ्गं कालीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले खरिद विक्री सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अहिले ५८ मेगावाट क्षमताको विद्युत खरिद विक्री सम्झौता भएको भएता पनि आयोजनाको क्षमता वृद्धि गरी ८६ मेगावाट कायम गर्न विद्युत विकास विभागबाट सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोले बाँकि क्षमताको पनि छिटै खरिद विक्री सम्झौता गरिने छ। यो आयोजना म्याग्दी जिल्लाको अन्नपूर्ण तथा रघुगंगा गाउँपालिकामा पर्दछ ।
यो आयोजना मध्य कालीगण्डकी जलविद्युत आयोजना र मिस्त्रि खोला २ आयोजनाको क्यास्केडको रुपमा विकास गरिएको हो । आयोजनास्थलमा राजमार्गको पहुच रहेको भने प्रसारण लाइन समेत बनिसकेको अवस्था छ।