काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्न पहल थालेका छन्। मंगलबार नेपाली सेना, मन्त्रालय र सडक विभागका उच्च अधिकारीहरुसँग मन्त्री ज्वालाले यस विषयमा छलफल गरेका हुन् ।
छलफलमा मन्त्री ज्वालाले भने, ‘सरकारले हरेक वर्ष आफ्नो प्राथमिकतामा राख्छ तर सडक सिमिकोट पुग्दैन, यो वर्ष जसरी पनि सडक सञ्जालले हुम्ला सदरमुकामलाई जोड्नै पर्छ’ मन्त्री ज्वालाले भने ‘केही समस्या छन् भने भन्नुहोस्, समाधानको उपाय खोजौला तर सडक अपुरो भयो भन्ने छुट यसपटक हामीलाई छैन।’
सलीसल्लादेखि सिमिकोटसम्मको ५५ किलोमिटर सडक मध्ये २।५ किलोमिटर सडक मात्र ट्रयाक ओपन गर्न बाँकि छ । ट्रयाक ओपनको काम नेपाली सेनाले गरिरहेको छ । ट्रयाक ओपनको काम केही महिनामै सक्ने नेपाली सेनाले मन्त्री ज्वालालाई विश्वास दिलाएको छ ।
मन्त्री ज्वालाले सडक विभागबाट यसैवर्ष गाडी चल्ने गरी सडक निर्माण गर्न नसकिने अवस्था भए नेपाली सेनालाई जिम्मा दिने बताए। ‘जसरी पनि यो वर्ष हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्नु नै छ, त्यसका लागि सडक विभागले कहाँ के गर्ने ? नेपाली सेनाले कहाँ के गर्ने ? त्यसको योजना तत्काल ल्याउनुहोस्’ मन्त्रालयका उच्च अधिकारीहरुलाई मन्त्री ज्वालाले निर्देशन दिए ।